यस्तो छ कपिलवस्तुका कोरोना संक्रमितको ट्राभल हिस्ट्री

शुक्रबार, २६ बैशाख २०७७

बुटवल – बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुईजना लकडाउनकैबीचमा भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

कपिलवस्तुुको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए ।

लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए । रुपन्देहीको कोटहीमाई १ का संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लैजाने तयारी भइरहेको उनले बताए ।