सुदुरपश्चिम प्रदेश कोरोनाका विरामी मुक्त
कैलाली – सुदुरपश्चिम प्रदेश कोरोना संक्रमित विरामी मुक्त भएको छ । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएपछि सुदुरपश्चिम कोरोना विरामी मुक्त भएको हो ।
लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया महिलालाई शुक्रबार अस्पतालले डिस्चार्ज गरेको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो ।
दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।
बिहीबार र शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित पाँचै जनाले कोरोना जितेर घर फर्किएका छन ।