भारतले लिपुलेक कब्जा गरेपछि युवा संगठनको आपक्ति, संघर्षका लागि तयार रहन आग्रह
काठमाडौं – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन, नेपालले नेपाली भुभागको प्रयोग गरेर भारतले सडक बनाएपछि त्यसको विरोध गरेको छ । संगठनको भेरी कर्णाली व्युरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक र कालापानीमा नेपालको अनुमतिबीना मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेको घटना प्रति आपक्ति जनाएको हो ।
भेरी कर्णाली व्युरो इन्चार्ज दीपद्वारा जारी विज्ञप्तिमा भारतले संयुक्त राष्ट्रसंघको वडापत्र र सार्कको वडापत्र विपरीत तथा अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै भारतीय साम्राज्यवादी सत्ताले एक सार्वभौम मुलुक नेपालको भुभाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण र उद्घाटन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यस अघि पनि नेपालको लिपुलेक–लिम्पियाधुरा–कालापानी सहितको भुभाग भारतीय साम्राज्यवादले आफ्नो नक्सामा गाभेको घटनालाई लिएर देशभर हाम्रो गौरवशाली युवा संगठनको आह्वानमा देशभक्त युवाहरुले उक्त भारतीय नक्सामा आगो लगाएर, कोण सभा गरेर र अन्य संघर्षद्वारा भारतीय सत्ताको हर्कत माथि बिम्बात्मक प्रतिरोध गरेको थियो ।’
संगठनले विश्व कोरोनाको महामारीसँग लडिरहेको वेलामा लिपुलेकमा भएको भारतीय अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा तिब्र भत्सर्ना गर्दै यस घटना विरुद्ध एक हुन देशभरका राष्ट्रिय मुक्ती युवाहरु, परिवर्तनकामी युवाहरुमा अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक पर्दा राष्ट्रमुक्ती आन्दोलनको लागि तयार रहन पनि देशभक्त तथा परिवर्तनकारी युवाहरुमा अपिल गर्दछौं ।’
