आन्दोलनकारीका माग पुरा गरेको सरकारको घोषणा
काठमाडौं – सरकारले लकडाउनको उल्लङ्घन गर्दै सडममा आन्दोलन गर्ने युवाहरुको माग संबोधन गरेको जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले सरकारविरुद्ध भइरहेको प्रदर्शनबारे बोल्दै मागहरु पुरा गरेको जनाएको छ ।
समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वक्तव्य जारी गर्दै कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी (हिसाब) छिट्टै सार्वजनिक हुने बताउँदै पीसीआर टेष्टको दायरा बढाउने निर्णय भइसकेको जवानकारी दिए ।
त्यस्तै, आन्दोलनकारीको अर्को माग क्वारेन्टिनको पनि सुधार गर्दै जाने पोखरेको भनाई छ । विभिन्न माग राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको भन्दै पोखरेलले भनेका छन्, ‘आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’
लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दुरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उनले बताएका छन् ।
पोखरेलले भनेका छन्, ‘थौरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सजग हुन सबैमा आह्वान गर्दछौं ।’