मन्त्रीको क्वाटर अगाडी बम भेटियो, पुलचोकमा त्रास

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – ललितपुरमा रहेको मन्त्री क्वाटर अगाडी बम भेटिएको छ । बम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले राखेको प्रहरीले जनाएको छ ।

उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शुक्रबार साँझ एक जना विप्लवका नेताले बम राखेको देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । सोही क्रममा ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनले राखेको सकेट बम भएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए ।

पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।