आत्माहत्याको धम्की दिदै बाहिरिन सरिता गिरी

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – समाजबादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन । नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी छिन।

संसदबाट बाहिरिने क्रममा गिरीले आत्माहत्या गर्ने धम्की दिएकी छिन । उनले भनिन, ‘म महिलाको रूपमा बोल्दैछु– या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’उनले भनिन्।

उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’ गिरीले भनिन, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।’

उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।

‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन,’ गिरीले भनिन्।