कोरोना भाइरसबारे नयाँ अध्ययन, संक्रमितले एक डोज खोप लगाए हुने
काठमाडौं – पश्चिमा देशहरुमा भएको अर्को एउटा नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरेको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ ।
धेरै देशहरुले खोप लगाउने रणनीति बदल्न सक्ने भएकाले यो निकै महत्त्वपूर्ण विषय हो । खोपको अभाव सामना गरिरहेको नेपालसँगै विश्वका धेरै देशका लागि यो वरदान हुनसक्छ । छिमेकी भारतले पनि आफ्नो जनसंख्याका लागि आवश्यक खोप उत्पादन गर्न सकिरहेको छैन र त्यहाँ दोस्रो लहरले ठूलै आतंक मच्चाइरहेको छ ।
साइन्स इम्युनोलोजीमा छापिएको पेन इन्स्टिच्युट अफ इम्युनोलोजीको अध्ययनका अनुसार अमेरिकामा कोरोनालाई जितेका मानिसमा एमआरएनए खोपको पहिलो डोजपछि एन्टीबडी रेस्पोन्स अति राम्रो देखिएको थियो ।
तर दोस्रो डोजपछि प्रतिरोध रेस्पोन्स पहिलेजस्तो थिएन । अध्ययनकर्ताहरुका अनुसार जसलाई कोरोनाको संक्रमण भएको थिएन, ती व्यक्तिहरुमा एन्टीबडी रेस्पोन्स दोस्रो डोज खोप लगाएको केही दिनसम्म देखिएको थिएन ।
युनिभर्सिटी अफ पेन्सिल्भेनियाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा पेन इन्स्टीच्युट अफ इम्युनोलोजीका सिनियर लेखक ई जोन बेरीले भनेका छन्, ‘अध्ययनको यो नतिजा खोपको अल्पकालिन र दीर्घकालिन प्रभावका लागि प्रोत्साहित गर्नेखाले छ । यसले मेमोरी बी सेल्सको विश्लेषणमार्फत खोपको प्रतिरोधी प्रतिक्रियालाई बुझाउन पनि सहयोग गर्नेछ ।
होइन, यस्ता दाबी निरन्तर आइरहेका छन् । इटाली, इजरायल र अन्य केही देशमा पनि यस्तैखाले अध्ययन भएको छ । सिएटलमा फ्रेड हचिसन क्यान्सर रिसर्च इन्स्टिच्युटका इम्युनोलोजिट एन्ड्रियु म्याकगुइरेले यस्तै अध्ययन गरेका थिए । सिएटल कोभिड कोहर्ट स्टडीमा १० वालटियरमा यो अध्ययन गरिएको थियो । पहिलो डोज खोप लगाएको दुईदेखि तीन हप्तापछि रगतको नमुनामा लिँदा एन्टीबडीको स्तरमा उछाल देखिएको थियो । अर्को डोजपछि ती व्यक्तिमा एन्टीबडीको स्तरमा यति ठूलो बदलाव देखिएको थिएन ।
– अनुसन्धानकर्ताका अनुसार जसले इम्युन सेल भाइरसलाई याद राख्छन् र लड्छन्, त्यसको संख्या बढेको देखिएको थियो । म्याकगुइरेका अनुसार खोपको पहिलो डोजले शरीरमा पहिलेदेखि कायम इम्युनिटीलाई बढाउने स्पष्ट छ ।
न्युर्योक विश्वविद्यालयमा अर्को एक अध्ययन भयो । धेरैजसो मानिस आठ या नौ महिना पहिले कोरोनाबाट संक्रमित भएका थिए । जब खोपको पहिलो डोज दिइयो, तब उनीहरुको शरीरमा एन्टीबडी सयौँ–हजारौँ गुणा बढ्यो । दोस्रो डोजपछि एन्टीबडी लेभल यसरी बढेन ।
यस अध्ययनका मुख्य लेखक न्युर्योक विश्वविद्यालय लङगोन खोप सेन्टरका निर्देशक डाक्टर मार्क जे मलिगनका अनुसार यो अध्ययनले इम्युनोलोजिकल मेमोरीको ताकत बताउँछ, जो पहिलो डोज लिएपछि कयौं गुणा बढ्छ ।
यस्तै एक अध्ययन न्युर्योकको माउन्ट सिनाईस्थित इकान स्कुल अफ मेडिसिनका इम्युनोलोजिस्ट फ्लोरियन क्रैमरले पनि गरे । उनका अनुसार जो व्यक्तिहरुलाई कोरोना भइसकेको थियो, उनीहरुमा खोपको एक डोजपछि साइड इफेक्ट्स देखिएको छ । तर, ती व्यक्तिहरुमा संक्रमित नभएका व्यक्तिको दाँजोमा धेरै एन्टीबडी भेटिएको थियो । डाक्टर क्रैमरका अनुसार यदी तपाईंले बाँकी अध्ययनलाई राखेर हेर्नुहुन्छ भने संक्रमित भइसकेका व्यक्तिलाई एक डोज नै पर्याप्त हुनेछ भन्ने स्पष्ट हुन्छ ।
क्रैमर र अन्य अनुसन्धानकर्ताले आफ्नो अध्ययनपछि अमेरिकामा सेन्टर फ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनसँग पनि सम्पर्क गरेका थिए । एकपटक कोरोना संक्रमित भएर निको भइसकेकालाई केवल एक डोज दिइयोस् र यसो गर्दा धेरैभन्दा धेरै मानिससमक्ष खोप पुर्याउन सकिन्छ भन्ने उनीहरुको सुझाव थियो । तर, तथ्याङ्कको कमी भएको भन्दै यस दाबीलाई तत्कालका लागि अमेरिकामा खारेज गरियो ।
स्रोत ः दैनिक भास्कर