खनाल–नेपाल पक्षका सबै सांसद राजिनामा दिने तयारीमा
काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन्।
यद्यपि ओलीलाई नेपाल–खनाल समूहले २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।
शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ कै अवस्थामा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।
उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् ।