ओलीले वेवास्ता गरेपछि नेपाल समूह एक्सनमा, सामूहिक राजीनामा दिन संसद् भवन जादैँ
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन संसद् भवन बानेश्वर जान लागेका छन् ।
नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको बेवास्ता गरेको भन्दै सांसदहरू सामूहिक राजीनामा दिन संसद् भवन जान लागेका हुन् ।
कति सांसदले राजीनामा दिने भन्ने संख्या भने अहिले बाहिर आएको छैन ।
हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।
यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले परचक्री भएको आरोप लगाएका छन् । संसद्मा विश्वासको मत लिनु अघि नेपाल समूहले राखेका ६ बुँदे सर्तका आधारमा थापाले ‘परचक्री सेवाको नियत’ रहेका भन्दै आरोप लगाएका हुन् ।