नयाँ सरकार बनाउने प्रक्रियामा सामेल हुँदिनः महन्थ ठाकुर

मंगलबार, २८ बैशाख २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी नयाँ सरकार गठनको प्रक्रियामा सामेल नहुने बताएका छन् ।

ठाकुरले विज्ञप्ति निकालेर वैकल्पिक सरकार गठनमा लाग्नु मधेश आन्दोलनको मर्म विपरीत हुने उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा ठाकुरले भनेका छन्, ‘जसपा सत्ताको प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल धेय रहेको अवस्थामा मुद्दाबाट विचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ ।’

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले नयाँ सरकार निर्माणका लागि तयारी गरिरहेको बेला ठाकुरको विज्ञप्ति आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोमबार संसदमा विश्वासको मत नपाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै आह्वान गरिसकेकी छन् । आह्वानसँगै दुई वा दुईभन्दा बढि दल मिलेर वैशाख ३० गतेभित्र बहुमत पूरा गरि नयाँ सरकार गठन गर्नुपर्नेछ ।