एमाले कार्यदल व्यूँतिदै, यसरी भयो सहमति

सोमबार, २१ असार २०७८

काठमाडौँ – नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल व्यूँतिने भएको छ। कार्यदलको बैठक सोमबारनै बस्ने छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए।

कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए। आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए।तर रावलले हस्ताक्षर अदालती प्रक्रियामा गएकाले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका थिए।

नेपाल पक्षले २०७५ साल जेठ २ गते फर्किन अध्यक्ष ओलीलाई दवाव दिइरहेको छ । तर ओली जेठ २ मा फर्किन सहमति छैनन् । त्यही विषयमा मध्यमार्गी बाट तय गर्न कार्यदल गठन भएको थियो ।