सुजाताको निवासमा पौडेल समूहका नेताहरुको लञ्च मिटिङ, के के भयो छलफल ?
कार्तिक २६ काठमाडौं – नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पौडेल समूहका नेताहरुको लञ्च मिटिङ भएको छ ।
विजयकुमार गच्छादारलाई उपसभापति बनाइपछि असन्तुष्ट बनेको पौडेल पक्षले आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न छलफलमा जुटेको हो ।
मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहे ।
पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताए । भने, ‘अब उहाँहरु पनि हामीसँगै आउनुहुन्छ भन्नेमा आशावादी छु ।’
पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताए ।