‘श्रीपेज लगाउने मान्छेलाई हेल्मेट लगा भन्ने’ भन्दै प्रहरीमाथि झम्टिए पारस शाह
काठमाडौँ – बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले शुक्रबार बेलुका हेल्मेटबीनै सडकमा निक्लिए । हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका उनलाई नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेर हेल्मेट खोई भनेपछि उनले उद्दण्डता देखाए ।
सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका थिए । प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।
समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ । महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ । त्यहाँका एक अधिकारीलेभने, ‘खासै ठूलो घटना होइन । चार/पाँच मिनेटको घटना हो । सम्झाईबुझाई पठाइदिएका छौ ।’
हेल्मेट नलगाई निस्केका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनले उल्टै प्रहरीसँग झगडा गरेका थिए। प्रहरीका अनुसार पारससँग उनका छोरा हृदयेन्द्रसमेत थिए। उनीहरु निर्मल निवासबाट हेल्मेट नलगाई बाइक लगाएर निस्किएको प्रहरीले बताएको छ।
‘पारसका समर्थकहरले श्रीपेज लगाउने मान्छेलाई हेलमेट लगा भन्ने’ भन्दै प्रहरीमाथि जाइलागेका थिए । उनलाई पक्राउ गर्दा राजावादीहरुले ठूलो आन्दोलन गर्नसक्ने कुराको आँकलन गर्दै उनलाई छोडिएको हो । हेलमेट नलगाएको मान्छेलाई छुट्टै कानुनी कारवाही हुने व्यवस्था हुँदा हुँदै प्रहरीले पक्राउ गर्न खोज्नु गैरकानुनी भएको भन्दै चर्किएका थिए ।