यस्तो रहेछ भाइरल तस्वीरमा देखिएका युवा पेशा

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ – बिहीबार दिउसोदेखि एउटा तस्वीर भाइरल भएको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गरेको समयको तस्वीर थियो त्यो ।

मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

निधारमा कालो फेटा बाँधेका युवाले ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् । घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन् । सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै ट्रोल भएको छ ।

उनको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन् । उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताए ।

भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २र४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?’

उनले आफ्नो केही पनि पेशा नभएको बताए । राजनीति गरिरहेको बताउने उनी एमाले नेता महेश बस्नेतका सक्रिय कार्यकर्ता हन् । उनले लगाएको सिक्रीको श्रोत के हो ? उनले खुलाएनन् ।