निर्वाचन आयोगले दियो माधव नेपाललाई झट्का, सर्वोच्च अदालत जाने

बुधबार, ९ भाद्र २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई झट्का लागेको छ । निवाचन आयोगले ४ जना सांसदहरुलाई सनाखत गर्न नदिएपछि नेपालको पार्टी सर्वोच्च अदालत जाने भएको हो ।

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगका विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । ४ भदौमा नयाँ दल दर्ताको लागि भन्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उक्त निवेदन पछि निर्वाचन आयोगले ९ भदौमा निर्वाचन आयोगमा सनाखतको लागि बोलाएको थियो । सनाखत गर्न आएका तीन जना सांसदहरुलाई सनाखत गर्न आयोगले नदिएपछि सर्वोच्च जाने तयारी गरेको स्रोतले बताए ।

आयोगले निवेदन दिएका दिन हस्ताक्षर भएका केन्द्रीय सदस्य र सांसदले मात्र सनाखत गर्न पाउने भनेपछि तीन जना प्रतिनिधि सभाका सांसदले सनाखत गरेपनि मान्यता दिन आयोगले नमानेको एक नेताले बताए ।

सनाखत गर्ने प्रतिनिधि सभाका सांसदहरु सोमनाथ पाण्डे, माया ज्ञवाली,तुलसी थापा र सरलादेवी सुवेदी रहेका छन् । नियममा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिन सम्म दल रोज्न पाउने अधिकार दिएको भएपनि प्रतिनिधि सभाका सांसदको हकमा भने त्यो छैन ।

तर दल विभाजन सनाखत गर्न आएकाले मान्यता पाउनु पर्ने अडान नेकपा एकीकृत समाजवादीका नेताहरुले राखेका छन् । यदि आयोगले सनाखत भएका प्रतिनिधि सभाका सांसदहरुको हकमा मान्यता नदिएमा सर्वोच्च अदालत जाने तयारी गरेको एक नेताले बताए ।