वाईसीएलबाट दीपशिखा विदा हुँदै, को बन्लान नयाँ अध्यक्ष ?

आइतबार, १३ भाद्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा (दीपशिखा)ले विदा लिने भएका छन् । तत्कालीन एमाले र माअ‍ोवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको अध्यक्षसमेत भइसकेका सापकोटा जारी राष्ट्रिय सम्मेलनबाट विदा हुन लागेका हुन् ।

सापकोटा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा वाईसीएल र विशेष जिल्ला इन्चार्जको जिम्मेवारीमा गएसँगै अध्यक्षका लागि चारजनाले दावी गरेका छन् । शनिवारदेखि शुरु भएको सम्मेलन आजै सक्ने तयारी छ ।

वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका छन् । २०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण भइ नेकपा बनेपछि भने वाईसीएलको सांगठनानिक संरचना अस्तव्यस्त बनेको थियो । त्यस्तै महासचिवमा चार जना आकांक्षी देखिएका छन् ।

कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राखेका छन् । यसमध्य शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

नेतृत्व चयनका लागि यसपाली वाईसीएलमा चुनाव नहुने भएको छ । हिजो सम्मेलन उद्घाटन गर्दा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै टुंग्याउन जोड दिएका थिए ।

कोभिडकै कारण पनि चुनाव सम्भव नभएको प्रचार विभाग प्रमुख पुष्प ओली बताउँछन् । ‘आकांक्षी हुनुहुन्छ तर सहमतिमै छनोट हुन्छ,’ उनले भने, ‘यसपाली हाम्रो चुनाव हुँदैन । हामीहरुबीच सहमति नभए पार्टीले नेतृत्वले टुंग्याउँछ ।’

हालका अध्यक्ष दीपशिखाले नेतृत्व छाड्ने भएपछि देवकोटा र शेर्पालीमध्य एक जनालाई अध्यक्ष र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने प्रयास भइरहेको ओलीले जानकारी दिए ।

यसअघि नै उपाध्यक्ष भएकाले देवकोटा वरिष्ठ हुन् । नेतृत्व चयनमा वरिष्ठतालाई आधार बनाउने सम्भावना छ । यद्यपि यसअघि वरिष्ठता निर्धारण नभएकाले केही समस्या भएको ओली बताउँछन् ।

उनी भन्छन्, ‘वरियता नतोकेका कारणले हामीलाई अलिकति समस्या भएको छ, तर यो हल हुन्छ।’ यसअघि वाईसीएलको वरिष्ठ उपाध्यक्ष रहेका बिरु तामाङ पार्टीको जिम्मेवारीमा रहने भएका छन् ।

महासचिवमा पनि वरिष्ठता खुट्याएर एक जनालाई नेतृत्व दिने अरु अकांक्षीलाई उपाध्यक्ष बनाउने तयारी वाईसीएलको छ। यसैबीच वाईसीएल इन्चार्ज समेत रहेका सापकोटाले आफू विदा भएपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने बताए ।

सापकोटाले सकेसम्म सहमति नभए विधीबाट जानुपर्ने बताए । आफूले सहमतिको प्रयास गरिरहेको उनले जानकारी दिए ।