अपार्टमेन्टमा यौन धन्दा, डे बुकमा चर्चित ब्यापारीको नाम देखिएपछि हङ्गामा
काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टमा यौन धन्दा संचालन भएको पाइएको छ । प्रहरीले ६ महिना लगाएर अनुसन्धान गरेपछि यस्तो रहस्य खुलेको हो ।
अपार्टमेन्ट को ५ औं तल्लामा यस्तो धन्दा चलेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । ‘हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्,’ ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया एक महिला हतार–हतार कपडा मिलाउन थालिन् । अरू पनि हस्याङफस्याङ गर्दै उठे ।
केही त अर्धनग्न अवस्थामा थिए । एक्कासि प्रहरी पुगेपछि उनीसहित ७ जनाले आफूहरू आफन्त भएको नाटक गरे, तर प्रहरी पत्याउन तयार थिएन । पूर्व सूचनाका आधारमा नै त्यहाँ छापा हानिएको थियो ।
प्रहरीले छापा हान्दा मादक पदार्थका बोत्तल र कन्डमहरू यत्रतत्र छरिएका थिए । त्यहाँ ४/५ वटा बेड पनि थियो । प्रहरीलाई त्यहाँ ललितपुरका लिला (नाम परिर्वतन)ले यौन व्यवसाय चलाउँदै आएको भन्ने सूचना थियो । त्यहाँ जानका लागि प्रहरीले उनको मोबाइल नम्बरको अनुसन्धान गरेको थियो ।
फरार अवस्थामा रहेकाले प्रहरीले उनको वास्तविक पहिचान खुलाएको छैन । प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा छिरेको थियो । गेटमा नाम टिपाइदिनेदेखि ढोका खोल्न लगाउनेसम्मको काम तिनै महिलाले गरेकी थिइन् ।
ढोकामा अत्याधुनिक सेक्युरिटी सिस्टमको लक कोड राखिएको रहेछ । प्रहरीलाई त्यहाँ छिर्नका लागि ६ महिनासम्म अनुसन्धान गर्नुपरेको थियो । प्रहरीका अनुसार यौनधन्दा चलाउने मुख्य व्यक्ति पैसा मिटरब्याजमा लगाउने र मानव बेचबिखनमा समेत संलग्न छन् । उनी अहिले फरार छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी रहेको छ ।
उनीहरूले त्यहाँबाट फोनमार्फत ग्राहक खोज्ने र उनीहरूलाई सम्पर्क गरेर यौनधन्दा चलाउने गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
‘उनीहरूले त्यसलाई अफिसको रूपमा राखेका रहेछन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘त्यहाँबाट ग्राहक खोज्ने, बोलाउने र धन्दा चलाउने गरेको देखियो ।’ एसएसपी बज्राचार्यका अनुसार कोरोना भाइरसको संक्रमणका कारण फोनबाट सम्पर्क गर्ने र त्यसअनुसार नै व्यवस्थापन गर्ने गरेको पाइएको छ ।
उनीहरूले यौन धन्दा व्यवसायिक रूपमा चलाउँदै आएको समेत पुष्टि भएको छ । त्यसका लागि उनीहरूले एक जना लेखापाल (एकाउन्टेन) राखेका थिए । ती लेखापालले दैनिक कति ग्राहक आए ? को–को आए ? कति पैसाको यौन व्यापार आयो र कति कमिसन आयो भन्ने राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनीहरूले त्यसका लागि ३ वटा ‘डे बुक’मा पैसाको व्यवस्थापन गर्दै आएको देखिएको छ । ‘उनीहरूले को व्यक्ति आएरगए भन्ने कुरा राख्नका लागि ३ वटा डे बूक व्यवस्थापन गरेका थिए,’ एसएसपी बज्राचार्यले भनिन् ।
प्रहरीका अनुसार उनीहरूले एकजना ग्राहकसँग न सम्पर्क गरेबापत एक युवतीबाट २५ प्रतिशत कमिसन समेत लिने गरेका थिए ।
उनीहरूले व्यक्ति हेरेर ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति लिने गरेको देखिएको छ । ‘उनीहरूले व्यक्तिको हैसियत हेरेर रेट लिँदारहेछन्, त्यसमा विभिन्न खालका व्यापारीहरू पनि आउने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
प्रहरीले पक्राउ परेका महिलाहरूसँग लिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले लगभग १०र१२ हजार व्यक्तिहरूसँग सम्पर्क भएको देखिएको छ । त्यसमा व्यक्तिहरू दोहोरिएका पनि छन् ।
उनीहरूले यौन सम्पर्क स्थापित गर्ने व्यक्तिहरूको नाम तथ्याङ्कमा विदेशी महिलाको नाम जस्तै राख्ने गरेको समेत पाइएको छ । प्रहरीले भदौ १ गते दिउँसो साढे ३ बजे ४ जना पुरुष र ३ महिलालाई पक्राउ गरेको थियो । उनीहरूको पहिचान समेत खुलाएर प्रहरीले सार्वजनिक गरिसकेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया गीता खड्गी, झापा दमक नगरपालिका– ७ का ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दिया ठाकुरबाबा नगरपालिकाकी २९ वर्षीय सुनिल विष्ट रहेका छन् ।
त्यस्तै, काठमाडौं बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ की २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ का ३३ वर्षीय प्रतीक कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा राख्न म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।