केहीबेरमा मन्त्रीपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

बुधबार, २३ भाद्र २०७८

काठमाडौँ – बागमती प्रदेशमा केहीबेरमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको उनले बताए ।

मन्त्रीको लागि सिन्धुलीबाट प्रदीप कटुवाल,रामेछापबाट शान्तिप्रसाद पौडल, काभ्रेबाट चन्द्र लामा, काठमाान्डौबाट अजय कान्ती, चितवनबाट विजय सुबेदी, दोलखाबाट रचना खड्का,मकवानपुरबाट जुनेली माया श्रेष्ठ , भक्तपुरबाट सरस्वती वाटी नुवाकोटबाट वद्री मैनाली रहेका छन्।

यस मध्ये ५जना फुल मन्त्री तथा ४ राज्यमन्त्री राज्यमन्त्री थप हुने श्रोतले जनाएको छ। मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।

भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री शाक्यले राजीनामा नदिने बताएकी छन् । उनले प्रदेशसभामा विश्वासको मत लिने संकेत गरेकी छन् ।