फातिमालाई कालो झण्डा देखाउने नेकपाका ५० भन्दा बढी कार्यकर्ता पक्राउ

बिहिबार, २४ भाद्र २०७८

काठमाडौँ – एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन नेपाल कम्युनिस्ट पार्टीका ५० जनाभन्दा धेरे पक्राउ परेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा उत्रिएका नेकपा निकट युवा संगठन र विद्यार्थी संगठनका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर, तीनकुने, भृकटी मण्डपमा राखिएको छ । पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

पक्राउ पर्ने अखिल क्रान्तिकारी झक्तपुरको अध्यक्ष ललितजंग बम, उपाध्यक्ष अशोक महतारा, मदन, खगेन्द्र, सुबास लगायत रहेका छन् । विप्लव नेृतृत्वको नेकपाले पूर्व घोषित कार्यक्रमहरुलाई स्थगित गरेर एमसीसी परियोजना खारेज गर्नका लागि सम्पूर्ण शक्ति आन्दोलनमा केन्द्रीत गरेको छ ।

फातिमा नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् । पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न अखिल क्रान्तिकारीले माग गरेको छ ।