राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा इलाममा भव्य प्रदर्शन

शनिबार, २६ भाद्र २०७८

इलाम – राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा इलाममा भव्य प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टी इलामको आयोजनामा भव्य प्रदर्शन भएको हो ।

पार्टीले घोषणा गरेको देशब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाममा नेकपाले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शन पछि सम्पन्न कोण सभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरुले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र र जनता प्रति ठूलो गद्धारी गरेको बताए ।

उनले संसदवादीहरुलाई सिआइएको एजेण्टको काम गर्ने विदेशीको चौकिदार भन्दै जनतालाई झुक्याउन छाडेर अमेरिकी सेनाको पोसाक लगाएर आफ्नो असली चरित्र देखाउन चेतावनी दिए ।

राष्ट्रघाती एमसीसी परियोजना विकासको नाममा नेपालमा अमेरिकी सत्ता चलाउन र नेपाललाई युद्धको कारखाना बनाउन खोजिएको र यती ठूलो राष्ट्रघात हुँदा विप्लवले हेरेर मात्र बस्न नसक्ने बताए । देशको मुद्धामा आफूहरु बलिदान गर्न तयार रहेको बताउँदै आवश्यकता पर्यो भने आफूहरु राष्ट्रीय मुक्ती युद्धको नेतृत्व लिन तयार भएको बताए ।

उनले इलामका देशभक्तहरुलाई यो आन्दोलनमा सहभागी हुन र साथ दिन अपिल पनि गरेका छन ।टुंडिखेलबाट सुरु भएको र्याली मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा रिसि कट्टेल नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य भुमी ढुङ्गानाले ऐकेबद्धता मन्तव्य राख्दै संसदवादिहरुले देश डुबाउने षड्यन्त्र गरिरहेको हुनाले अब चुप लागेर बस्न नसकिने बताए ।

उनले इलाममा रहेका देशभक्त, क्रान्तीकारी समुदायलाई साथमा लिएर संघर्ष चर्काउने बताए । कोणसभाको संचालन नेपाल कम्युनिस्ट पार्टिका इलाम जिल्लाका सचिब जितमान राई मौसमले गरेका थिए ।