आजुको ठाडो निर्देशनले रोकियो यति ठूलो काम, लाखौँ नेपाली तनावमा

बिहिबार, ३१ भाद्र २०७८

काठमाडौँ – प्रधानमन्त्री पत्नि तथा देशको पहिलो महिला आर्जु राणा देउवाको ठाडो निर्देशनमा गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोकिएको छ ।

१० औं विश्व सम्मेलनको तयारीमा रहेको एनआरएनएमा अस्वभाविक हस्तक्षप भएपछि गैरआवासीय नेपालीहरु अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए ।

त्यही उजुरीका आधारमा मन्त्रालयले हस्तक्षेप गरेर निर्वाचन रोकेको छ । एनआरएनएमा आर्जुको पनि स्वार्थ छ ।त्यही स्वार्थका कारण परराष्ट्र मन्त्रालयलाई निर्वाचन रोक्नका लागि दवाव दिएपछि मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले निर्वाचन प्रक्रिया रोकेका हुन् ।

एनआरएनको चुनावमाथि हस्तक्षेप गर्दै परराष्ट्र मन्त्रालयले आगामी अक्टोबर २० (कात्तिक ३ गते) मा हुने निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिएका हुन् ।

आगामी कात्तिक ३ गते नयाँ नेतृत्वका लागि चुनाव गर्ने कार्यतालिका तय भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव रोक्न भनेको हो । नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि, अक्टोबर २३–२५ (कात्तिक ६–८ गते) सम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ ।

एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । ८० बढि देशमा यसका शाखाहरु छन् ।

परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले एनआरएनएलाई पठाएको पत्रमा निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मका लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन भनिएको छ ।

परराष्ट्रको पत्रमा भनिएको छ, ‘०७८ भदौ २४ मा गैरआवासीय नेपाली संघका तीनजना सदस्यहरुको निवेदन प्राप्त हुन आएको छ । निवेदनमा राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि छनोट प्रक्रियामा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्युजिल्याण्ड, बेल्जियम, साइप्रस, अष्ट्रिया, बेलायत चेक गणतन्त्र, स्वीटजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क पोर्चुगल लगायतका मुलुकहरुमा समस्या रहेको व्यहोरा उल्लेख गरिएको छ ।’