मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

शुक्रबार, १ असोज २०७८

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले शुक्रबार दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।

एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा ९एकीकृत समाजवादी० कुनै सरकारमा सहभागी भएको यो पहिलो पटक हो ।

यसैबीच यता सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।