सिंहदरबार गोली काण्ड अपडेट, गोली चल्नुको खास कारण बाहिरियो

बुधबार, १० कार्तिक २०७८

काठमाडौं – सिंहदरबारमा बुधबार गोली चलेको छ । गोली चलाउने प्रहरीमाथि प्रहरीले एक्सन लिएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

के कसरी गोली चल्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।

‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’

सचिवालयका अनुसार भारतीले नयाँ पेस्तोल बोकेकी थिइन् ।

भारतीको भनाइलाई उदृत गर्दै सचिवालय स्रोतले भन्यो ‘नयाँ पेस्तोल बोकेको थिएँ । रजिष्ट्रेशन नम्बर टिपाउन खोज्दा पड्किएको हो ।’

पेस्तोल पड्किएलगत्तै सुरक्षा निर्देशनालयले पीएसओ भारतीलाई फिर्ता बोलाइसकेको छ ।’

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । यसैबीच थप सोधपुछका लागि पीएसओ भारतीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।

भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन ।