माधव नेपालका मन्त्रीले जाँड खाएर बबाल गरेपछि

मंगलबार, १६ कार्तिक २०७८

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री बनेका राजेन्द्र राई जाँड खाएर मात्तिएको भिडियो भाइरल भएको छ ।

असोज २४ गते पार्टीका नयाँ मन्त्रीलाई निर्देशन दिदै अध्यक्ष माधवकुमार नेपालले आचरणको पाठ पढाएका थिए । उनले भनेका थिए, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ ।’

‘मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्’ उनले अगाडि भनेका थिए ।

‘सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस्’ उनले भने ।

‘त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहन्छु ।’

१ नम्बर प्रदेशका नयाँ मुख्यमन्त्री (शपथ हुन बाँकी) राजेन्द्र राईले भने सोमबार साँझ इटहरीमा एउटा होटलमा बियर पार्टी गर्नुभयो ।

नेपालले क्लाइन्टसँग नबस्नु भन्नुभएको थियो, पार्टीको आयोजना होटल व्यवसायीले नै गरेको पुष्टि भएको छ ।

त्यसो त फ्लोर क्रस हुने भयले विपक्षी गठबन्धनले विराटनगरको बिग होटलमा आफ्ना सांसदलाई सबै सुविधासहित होटलबास गराएको थियो ।

राईको बियर पार्टी विवादित मात्र बनेको छैन माधव नेपालको नैतिकता र आचरणको पाठ उहाँका फलोअरले कसरी पूरा गर्छन् भन्ने पनि देखिएको छ ।