गरिव दुःखीका दिन फर्किए, जग्गा नहुनेलाई लालपुर्जा वितरण सुरु
काठमाडौं – सरकारले आजदेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मंगलबारबाट महोत्तरीको रामगोपालपुरस्थीत गाउँ ब्लकको जग्गा वितरण गरेर यसको सुरुवात हुने बताइन् ।
गाउँमा शिविर राखेर जग्गा वितरण गर्ने मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
उनले अघिल्लो सरकारका राम्रा कामको स्वामित्व आफूले लिने बताइन् । अघिल्लो सरकारले पालामा बनेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगले निरन्तरता दिने बताएको छ । त्यसै अन्र्तगत महोत्तरीबाट जग्गा वितरण थालिएको छ।
मन्त्री श्रेष्ठले भनिन्, ‘अघिल्लो आयोगले दाबी गरेजस्तो सुकुम्बासी,भूमिहीनसम्बन्धी काम खासै गति लिएको रहेनछ, १४ स्थानको बल्ल बल्ल भएको रहेछ, त्यो पनि पूर्ण भएको रहेनछ ।’
उनले भूउपयोगसम्बन्धी नियमावली समेत प्रधानमन्त्री शेरबहादुर देउवा आए मन्त्रिपरिषद्बाट पारित गराउने तयारी भइरहेको जानकारी दिएकी छन् । यो नियमावली अघिल्लो मन्त्रीको पालामा पारित गर्ने तयारी थियो ।
मन्त्रिपरिषद्को विघटनपछि यो फिर्ता आएको हो । मन्त्री श्रेष्ठले केही संशोधन गरेर यो नियमावलीलाई अगाडि बढाउने जानकारी दिइन् ।
नियमावली वस्तुगत होस भन्ने हो, हाम्रोमा तोकिए बमोजिम लेख्ने र गोलमडोल राख्ने चलन छ, त्यो नहोस भन्ने मेरो सोच, उनले भनिन् ।
उनले आफूले सके राम्रो काम गर्ने नसकेर नराम्रो भने नगर्ने प्रतिवद्धता जनाएकी छन् । उनले सरोकारवालासँग छलफल गरेर मात्रै गुठी ऐन अगाडि बढाउने बताइन्।