प्रचण्डलाई अर्को झट्का, हेलिकप्टरमै सुन्नपर्यो नमिठो खबर
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नमिठो खबर सुन्न परेको छ । माओवादी नेता तथा पूर्वमन्त्री रामचन्द्र झाले नेकपा माओवादी केन्द्र परित्याग गरेपछि प्रचण्डलाई झट्का लागेको हो ।
यो खबर सुन्दा प्रचण्ड डोल्पाबाट सुर्खेत हुँदै काठमाडौँ आउँदै थिए । हेलिकप्टरमा भएका बेलामा उनले दुःखद खबर सुनेका हुन् ।
उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । पहिलो संविधानसभा विघटनपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए ।
मंसिर ७ गते धनुषामा झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ ।
माओवादीका केन्द्रीय सदस्य झाले नेकपा (एस) प्रवेश गर्न लागेको पुष्टि गरे । उनले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक रुपम बिदासमेत लिइसकेको जानकारी गराए ।
‘माधव कमरेडसँग ३० वर्षसँगै काम गरेको हो । त्यो आफैले बनाएको घर हो नौलो कुरा होइन,’ झाले भने, ‘प्रचण्डजीसँग पनि औपचारिक रुपमा बिदावारी भइसकेको छु । अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो ।’
ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका नेपालसँग गएर हुने उनले बताए । ‘माओवादीको मनचित्त दुखाएर एकीकृत समाजवादीमा प्रवेश गर्न होइन,’ झाले भने ।
झालाई एकीकृत समाजवादीमा उपाध्यक्ष बनाउने तयारी छ । झा प्रदेश २ मा प्रभाव भएको नेतामा पर्छन् । माओवादीले स्थायी कमिटी सदस्य नबनाएको भन्दै झा असन्तुष्ट थिए ।
नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुर इन्चार्ज रहेका थिए । जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमालेको आठौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएका थिए ।
पहिलो संविधानसभा निर्वाचनपछि उनी स्थानीय विकासमन्त्री बनेका थिए ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा झा उक्त पार्टीमा लागेका थिए । पछि फेरि माओवादीमा फर्केका थिए ।