विमलेन्द्र निधिको समर्थन कसलाई ? करोडको खेल सुरु

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ – नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् । कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् ।

तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।

नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा देउवाको भन्दा बढी हुन जान्छ ।

तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो ।

दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।

नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने स्थिति आएमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।

‘प्रकाशमानजीसँग सल्लाह गर्छु,’ निधिले भने, ‘प्रकाशमानजीसँग सल्लाह भएर नै केही गर्छौं ।’ यसअघि विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुरलाई नसघाउने बताएका थिए ।