माधव नेपाल एमसीसी पास गर्न तयार

बुधबार, ७ पौस २०७८

रौतहट – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न तयार भएको बताएका छन् ।

उनलेजनतालाई विश्वासमा लिएर आफूहरु एमसीसीलाई अघि बढाउन तयार रहको बताएका हुन् ।

बुधबार रौतहटको वृन्दावन नगरपालिका–५ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनतालाई विश्वासमा लिएर मात्र एमसीसी अघि बढाउनुपर्ने बताएका हुन् ।

एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए ।

अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठेरोमा पारेको आरोप पनि लगाए ।

यता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा जस्ताको तस्तै एमसीसी पास गर्न तयार भए आफूहरु कठबन्धन तोड्न तयार भएको निश्कर्ष निकालेको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सार्वजनिक रुपमै एमसीसी जस्ताको तस्तै पास गर्न नसकिने यदि जबरजस्त गर्न खोजिए आफू गठबन्धन तोडेर सरकारबाट बाहिरिन तयनर भएको बताएका छन् ।

यता नेपाली कांग्रेसले पनि एमालेसँगको सहकार्यमा एमसीसी पास गर्न तयार भएको भन्दै छलफल अगाडि बढाएको छ ।