एमालेका माग सम्बोधन गर्न सरकार तयार, रातारात भयो यस्तो सहमति
काठमाडौँ – नेकपा एमालेले राख्दै आएका मागहरु सम्बोधन गर्न सरकार तयार भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भएको छलफल पछि सरकार एमालेका माग पुरा गर्न तयार भएको हो ।
बुधबार बेलुका दुई नेताबीच संसदको गतिरोध अन्त्य गर्न छलफल भएको थियो । छलफलमा भएका सहमतिहरु एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाले अनुमोदन गरेपछि सार्वजनिक गरिने छ ।
एमाले निकट श्रोतले दिएको जानकारी अनुसार नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिने, अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नेकपा एमालेले कांग्रेसलाई सहयोग गर्ने र प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्ने सहमति भएको छ ।
यी सहमतिका बुँदाहरुलाई दुई नेताले अनुमोदन गरेपछि कार्यान्वयनको चरणमा प्रबेश गर्ने बैठकमा सहभागी एक नेताले बताए ।
बुधबार संसद बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा सरकार गम्भीर भएको बताएका थिए ।
उनले धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका थिए ।
‘जुन विषय सर्वोच्च अदालतमा वा कुनै न्यायिक निकायमा, अदालतमा विचाराधीन छ, त्यो विषयलाई छलफलमा ल्याउन पनि मिल्दैन । त्यसप्रति उहाँहरूको ध्यानाकर्षण भएको छ भन्ने हामीलाई लागेको छ’ उनले भनेका थिए, ‘संसदलाई फलदायी बनाउने र उपयोगी बनाउने, संसद र संसदका मार्फत् आफ्ना विषयहरू जनतासमक्ष राख्ने अवसर उहाँहरूले दिनुहुन्छ हाम्रो त्यो विश्वास छ । यसको अपेक्षा, यसको प्रतीक्षा हामी गरिरहेका छौँ ।’
उनले यस्तो प्रतिक्रिया दिएको केही समयमा नै नेताहरु बीच छलफल भएको थियो । संसद विघटन भएर अर्लि इलेक्सन हुँदा लौरो पनि भाँचिने सर्प पनि भर्ने कांग्रेस नेताहरुको बुझाई छ ।