देशको मुख्य समस्या कहाँ छ ? राष्ट्रपतिले खोलिन रहस्य

आइतबार, ११ पौस २०७८

काठमाडौ–आईतबार शीतल निवासमा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गरेकी हुन्। उनले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा आजभोलि परिवार र समाजमा विभिन्न समस्याहरु उत्पन्न भइरहेको बताइन्।

राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकहरूले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको भन्दै ज्येष्ठ नागरिकहरुलाई आघात पुर्‍याउने यसप्रकारका प्रवृत्तिलाई निरुत्साहीत गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गरिन्।

‘आफ्नो जीवनको महत्वपूर्ण समय परिवारको हेरचाह, पालनपोषणका साथै देश सेवामा समर्पण गर्ने, ज्येष्ठ नागरिकहरु हाम्रा अविभावक र ज्ञान तथा अनुभवका श्रोत हुनुहुन्छ।
तथापि नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावका कारण आजभोलि परिवार र समाजमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएका छन्’, उनले भनिन्, ‘जसको कारण कतिपय ज्येष्ठ नागरिकहरुले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको छ। यो कुरा हाम्रो मौलिक, साँस्कृतिक परम्परा, पारिवारिक मूल्य मान्यता र आदर्श बिपरित् छ।’

उनले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको र कानूनि र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार प्रदान हुने बताइन्।

‘ज्येष्ठ नागरिकलाई आघात पुर्‍याउने यसप्रकारका प्रवृत्तिहरुलाई निरुत्साहीत गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन म सबैमा आह्वान गर्दछु। नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको छ। यी कानूनि र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज व्यवस्थापनमा सिमित भएपनि सहयोग पुग्ने मैले विश्वास लिएको छु,’ उनले भनिन्।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान गरेकोमा खुशी प्रकट गर्दै यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा स्मरण गरिने बताए।
उनले नेपाल सानो मुलुक भए पनि यहाँको परम्परा रितिस्थिति, धर्म संस्कृतिलाई सुहाउने गरेर ज्येष्ठ नागरिकलाई गरिएको सम्मान नेपालको इतिहासलाई धन्य बनाएको बताए।

‘पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान गरियो, यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिन हो। किनभने संसारमा ज्येष्ठ नागरिक त धेरै छन्। हरेक देशमा ज्येष्ठ नागरिक नभएका होइनन्, उनीहरुको आफ्नो किसिमको कला होला’, शताब्दी पुरुष जोशीले भने, ‘हाम्रो नेपाल सानो मुलुक भएपनि यहाँको परम्परा रितिस्थिति, धर्म संस्कृतिलाई सुहाउने गरेर ज्येष्ठनागरिकहरुलाई जुन यो समारोह मनाउने प्रथम दिवस शुभारम्भ भयो, त्यसको निमित्त नेपालको इतिहास धन्य भएको छ।’

शताब्दीपुरुष जोशीले जीवनलाई सादा जीवन उच्च विचार र सन्तोषमय बनाउनुपर्ने बताए। जीवनलाई सत्यमशिवम् बनाउने काम आफ्नो हातमा रहेको भन्दै उनले आफूले आफूलाई चिनेर काम गर्नुपर्ने बताए।