राजनीतिमा नयाँ कोर्ष सुरु, ओली र देउवाबीच नयाँ सहमति
काठमाडौं – नेपाली राजनीतिमा फेरि उथलपुथलको संकेत देखिन थाालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्नेगरि अघि बढेका हुन् ।
उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् ।
स्रोतका अनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् ।
‘आजरभोलिभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो ।
पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए ।
र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।
उनले आफूले राष्ट्रघाती काम गरौंला र रु भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को विरोध र आलोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् ।
तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् ।
उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् ।