बतास समूहले दियो सरकारलाई यति ठुलो चुनौती क्षतिपूर्ति सरकारले बेवरे सम्झौता गर्न तयार

बुधबार, २८ पौस २०७८

काठमाडौं–नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन लाग्दा विवादमा आएको बतास समूहले आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण दिएको छ । सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपूर्ति तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको दाबीसहित समूहले प्रष्टीकरण दिएको हो

७ बुँदे प्रष्टीकरणको अन्तिममा बतासले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने जनाएको छ । उच्चपदस्थ व्यक्तिहरूसँग अनैतिक र स्वार्थकेन्द्रित सम्बन्ध रहेको आरोपलाई समूहले खारेज गरेको छ ।
बतासको सबैभन्दा ठूलो गुनासो मिडियाप्रति देखिन्छ ।

विज्ञिप्तिमा भनिएको छ, ‘कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना होइन । त्यसैले बतास अर्गनाईजेशनले यस प्रकारका एकांगी, भ्रामक एवं पहिलो दृष्टिमा नै प्रायोजित देखिने त्यस्ता समाचार प्रकाशन, प्रशारण भइरहेको घटनालाई अचम्मको विषयका रूपमा भने लिएको छैन ।’

नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया भवन र संग्रहालयअन्तर्गतको गणतन्त्र स्मारकभित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेन्डर आह्वान गरिएपछि आफूहरूले कानूनसम्मत तरिकाले ठेक्का पाएको बतासको भनाइ छ । विज्ञप्तिमा उल्लेख भएअनुसार मासिक २ लाख २१ हजार ६१८ रूपैयाँ भाडा तिर्ने गरी वीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ साल पुस १७ गते सम्झौता भएको थियो ।
तर, कतिपय अनलाइनहरूले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशित गरेर भ्रम फैलाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘सो भाडासमेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रूपमा जे जति रूपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोकेबमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने’ पनि शर्तमा उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरूसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोड भन्दा माथिको लगानी गर्ने योजना रहेको बतासको भनाइ छ । हालसम्म तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा बतास अर्गनाईजेशनमाथि गैरकानुनी ढंगले आक्रमण गरी भौतिक संरचनाहरू समेत नष्ट गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

‘त्यसबखत हामीमाथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरूलाई अनुरोध गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो दिन भाडा भुक्तान गर्नु भन्ने पत्र प्राप्त भएबमोजिम भाडा भुक्तानी गरिएको र अर्को दिन निर्माण गरिएका भौतिक संरचनाहरू नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाल(भारतमैत्री पशुपति धर्मशालाका विषयमा पनि कम्पनीले कुनै गलत कार्य नगरेको दावी गरिएको छ । विज्ञप्तिअनुसार पशुपति विकास कोषले मिति २०७५ माघ २९ गते प्रकाशित गरेको बोलपत्रमा रितपूर्वक आवेदन दिई कम्पनी छनौट भएको थियो ।

होटल आनन्द प्रा।लि र पशुपति क्षेत्र विकास कोषबीच २०७६ साल बैशाख ३० गते होटल स्तरमा धर्मशाला सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौताले निर्दिष्ट गरेका शर्तहरूको अधिनमा रही हालसम्म होटल आनन्द प्रा।लि।ले धर्मशाला सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘धर्मशाला भाडामा दिने जिम्मेवार निकायलाई नै पशुपति विकास कोषलाई किन धर्मशाला भाडामा दिइएको भनेर प्रश्न गर्नुको सट्टा आफ्नो व्यवसायिक धर्म निभाउँदै धर्मशाला भाडामा लिई सञ्चालन गर्ने व्यापारिक कम्पनीलाई अनेकौँ कपोकल्पित र भ्रामक आरोपहरूसहित बदनाम गर्ने काममा नलाग्न हामी आग्रह गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै पाटन दरबार क्षेत्रमा केही वर्ष अघिदेखि नै बतास अर्गनाइजेशनले त्यहाँका केही कवलकोठाहरू भाडामा लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार सो क्षेत्रका कवलहरू पसल सञ्चालनका लागि अन्य पक्षलाई भाडामा दिने गरी नै लिइएको तर त्यहाँका सम्पूर्ण पसल कवलहरू अहिलेसम्म समेत भाडामा लागिसकेका छैनन् ।

विज्ञप्तिमा बतासमाथि लागेका अन्य आरोपहरूबारे पनि प्रष्टिकरण दिइएको छ