कांग्रेस नेता कोइराला पक्राउ, १० वर्षीया बालिका बलात्कारको आरोप
विराटनगर – नेपाली कांग्रेसका चर्चित नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिकामा बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले कांग्रेसका एक जना नेतालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङका अनुसार १० वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको घटना बाहिरिएपछि बुढीगंगास्थित टंकिसिनुवारीका नेता शिव कोइरालालाई पक्राउ गरिएको हो ।
उनी कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए ।
कोइरालाविरुद्ध मौखिक उजुरी परेका कारण पक्राउ गरिएको मुकारुङले बताए ।
‘हामी अनुसन्धान गरिरहेका छौं,’ मुकारुङले भने, ‘लिखित होइन, मौखिक उजुरी परेको छ, बालिकाको अवस्था के छ हामी हेर्दैछौं, कोइरालालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
गाउँपालिका–१ घर भएका कांग्रेस नेता ५१ वर्षीय कोइरालालाई आइतबार बिहान पक्राउ गरिएको उनको भनाइ छ ।
कोइरालाले पुस ३० गते घरनजिकको पसल पछाडि लगेर बालिकालाई बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए ।