सकियो सत्तारूढ गठबन्धनको बैठक, तोकियो त निर्वाचनको मिति ?
काठमाडौँ – सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी रहेका थिए।
बैठकमा आगामी निर्वाचन र कोरोना संक्रयणमा केन्द्रीत भएर छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले तीनै तहको निर्वाचन एकै पटक गर्ने कि फरक(फरक समय लगाएर गर्ने भन्ने विषयमा पनि छलफल भएको र थप निचोडमा पुग्न कानुनविद् र निर्वाचन आयोगसंग छलफल गरेर टुङ्गयाउने बताए।
‘आजको बैठकमा स्थानीय तह निर्वाचनबारे नै गम्भीर छलफल भएको छ। खासगरी स्थानीय निर्वाचन नै संविधानको स्पिरिट अनुसार सम्पन्न गर्ने कुरा भएको छ’, बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा भने, ‘संविधान र कानुनमा रहेको द्विविधालाई हटाउने कुरा भएको छ।’
कार्कीले २०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएकाले कुनलाई अन्तिम मिति मान्नेबारे कानुनविद् र निर्वाचन आयोगसँग छलफल गरिने पनि बताए।
‘२०७४ वैशाख ३१ गते पहिलो, जेठ ३१ गते र असोज २ गते तेस्रो चरणमा निर्वाचन भएको थियो। हामी अहिले पनि स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ’, उनले भने, ‘स्थानीय सरकारको परिकल्पना गर्दै गर्दा सिंहदरबारको सेवा गाउँमै पुग्नुपर्छ भनेका हौँ। स्थानीय सरकार मजबुत बनाउनेबारे बैठकमा गम्भीर कुरा भएको छ।’
कार्कीले तीन चरणमा स्थानीय तह निर्वाचन भएकाले कुनलाई अन्तिम मिति मान्नेबारे निचोडमा पुग्न नसकिएको बताएका छन्।
‘तीन चरणको निर्वाचनमा कुन मितिलाई अन्तिम मान्नेबारे छलफल भएको छ। अब यसबारेमा संविधानविद र निर्वाचन आयोगसँग पनि कुरा गर्ने छौँ’, उनले भने, ‘संविधानले जे व्यवस्था गरेको छ, त्यही अनुसार निर्वाचन मिति घोषणा हुन्छ।’
त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्- ‘संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ तर निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने बैठकमा निर्णय भयो ।’
उपाध्यक्ष पौडेलका अनुसार विज्ञहरुसँगको छलफल दुई दिनभित्रै हुनेछ । कानुनभन्दा संविधान ठूलो हो, त्यसलाई नै मान्नुपर्छ भन्ने बैठकमा कुरा उठेकोले ऐनको व्यवस्थालाई के गर्ने भन्ने विषयमा विज्ञहरुको राय लिने सहमति भएको उपाध्यक्ष पौडेलले बताइन् ।
निर्वाचन आयोगले बैशाखमा निर्वाचन गर्न प्रस्ताव गरेको छ। यद्यपि, सत्तारुढ दलमा स्थानीय निर्वाचनमा विषयमा एकरुपता कायम हुन सकेको छैन। तर, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघीय र त्यसपछि स्थानीयतहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ती सबै निर्वाचनका विषयमा सत्तारुढ दलमा एक मत भएपछि निर्वाचनको मिति घोषणा हुन सक्ने बताएको छ।
बैठकमा समिति प्रमुख एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी थिए ।