मतपत्र डिजाइनका लागि दरखास्त आह्वान, के के चाहिन्छ योग्यता

आइतबार, २३ माघ २०७८

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।

निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ। आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ।

निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखावा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ।

त्यस्तै सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताए । उनले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।