माओवादी केन्द्रले भन्यो, ‘वैशाख ३० मा चुनाव सम्भव छैन’

मंगलबार, २५ माघ २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिलेको कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले वैशाखमा निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था रहेको भन्दै उनले कानून संशोधनको कुरा उठाएका हुन् ।

सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनको धारणा छ ।

‘तीन चरणमा भएको चुनावमध्येमा पहिलो चरणकोलाई कार्याविधि सुरु भएको मानिएको छ ।’ उनले भने, ‘त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यवधि समाप्त हुन्छ ।’

उनले अगाडि भने, ‘ऐनअनुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिँदैन ।’

नेता गुरुङले संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र र ऐनले दुई महिना अगाडि निर्वाचन गर्ने भनेकाले संविधानसँग बाझिएका ऐनहरू खारेज गर्नुपर्ने बताए ।