देउवालाई प्रचण्डले भने, ‘मलाई प्रधानमन्त्री बनाउने भए एमसीसी पास गर्न सहयोग गर्छु’
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का कारण अमेरिकी सहयोग परियोजना (एमसीसी) रोकेको अमेरिकाको बुझाई छ । त्यहि विषयलाई प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग बार्गेनिङ सुरु गरेका छन् ।
देउवासँगको भेटमा उनले आगामी वैशाखको ३० गते स्थानीय तहको निर्वाचन पछि आफूलाई प्रधानमन्त्री बनाए एमसीसी पास गर्न सहयोग गर्ने संकेत गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखेको श्रोतको दावि छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारनिकट स्रोतले बताएअनुसार प्रचण्डले स्थानीय निर्वाचनपछि आफू प्रधानमन्त्री बनेदेखि एमसीसी पास गर्न सघाउने वाचा गरेका छन् ।
‘स्थानीय चुनावको मिति तोकिएको र एमसीसीलाई संसदमा टेबुल गर्न लागेको विषयलाई लिएर प्रचण्डले राजनीति गर्न खोज्नुभयो,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘आफू प्रधानमन्त्री भए एमसीसीपास गर्न सहयोग गर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले त्यसलाई स्वीकार गर्नुभएको छैन ।’
स्थानीय निर्वाचनपछि हुने संघीय चुनाव आफूले गराउन पाउनुपर्ने भन्दै केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रचण्डले शर्त तेर्स्याएका थिए । त्यही विषयलाई लिएर देउवा–प्रचण्डबीच मनमुनाव समेत भएको स्रोतको दाबी छ ।
यसबारे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत जानकार छन् । उनले एमसीसी पास गर्नैपर्ने भएदेखि देउवाको होइन प्रचण्डकै नेतृत्वमा बनेको सरकारले गरे राम्रो हुने सुझाव प्रचण्डलाई दिएको चर्चा चलेको छ ।
प्रचण्डनिवास खुमलटार स्रोतले भने प्रधानमन्त्री हुनुपर्ने माग प्रचण्डको नरहेको दाबी गरेको छ । ‘सत्ता गठबन्धनलाई तोड्ने हिसाबले यस्ता प्रचार भएका हुन्,’ सचिवालयका एक सदस्यले भने, ‘एमसीसी संशोधनबिना पास हुन सक्दैन भनेर लिएको अडानलाई कमजोर पार्ने गरी यस्तो कुरा बाहिर ल्याइएको हो ।’
केही दिनअघि एमसीसी मुख्यालयलाई लेखिएको एक पत्र सार्वजनिक भएको थियो । एमसीसी पास गर्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त पत्रमा देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर थियो । उक्त पत्र बालुवाटारबाटै सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार लेखिसकेका छन् ।
प्रचण्डले प्रधानमन्त्री मागेपछि रुष्ट भएका देउवाले पत्र सार्वजनिक गर्न लगाएको हुन सक्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने कसैले गरेको छैन ।
प्रचण्डको रणनीति आफू प्रधानमन्त्री बन्न्ने रहेको पनि यस तथ्यबाट आँकलन हुन थालेको छ ।