यस्तो ठाउँमा भेटियो हराएको २४ लाख डोज कोरोना खोप
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको २४ लाख डोज कोरोना खोप भेटिएको छ । हराएको भनिएको कोभिड–१९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले उक्त खोप भेटेको हो ।
छानविन समितिले खोप भेटिएको विषय आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै मन्त्रीलाई बुझाएको छ ।
डा. गुणराज लोहनी संयोजक रहेको छानबिन समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको प्रतिवेदनको विषयमा डा. लोहनी बोल्न चाहेनन् ।
‘हामीले उक्त प्रतिवेदन स्वास्थ्यमन्त्रीलाई बुझाएका छौं । मन्त्रीज्यूले नै यस विषयमा सार्वजानिक गर्ने बताउनुभएको छ,’ डा. लोहनीले भने, ‘अहिले हामी बोल्न मिल्दैन ।’
केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो ।
यस विषयमा प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए ।
स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार उक्त प्रतिवेदन पत्रकार सम्मेलन गरी मंगलबार सार्वजानिक गरिने छ ।
डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहेका छन् ।