एमसीसी पास गर्न एमाले तयार, तर…
काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नेकपा एमाले तयार भएको छ । नेपाली कांग्रेसले गठबन्धन भत्काउने शर्तमा एमाले एमसीसी पास गर्न तयार भएको हो ।
बिहीबार दिनभर भएका छलफलमा एमाले एमसीसी पास गर्न सकारात्मक देखिएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । एमालेले एमसीसी पास गर्ने भए कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोड्नुपर्छ र संसद विघटन गरेर अर्ली इलेक्सन गर्न पर्ने सर्त राखेको छ ।
बिहीबार बेलुवा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यही शर्त राखेको श्रोतको दावि छ । देउवा गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने या सहमतिमा प्रतिनिधिसभा विघटन गरेर आउँदो जेठमा अर्ली इलेक्सन गर्ने विषयमा छलफल गर्न ओली खुल्ला रहेको बालकोट स्रोतले बताएको छ ।
सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले ओलीसँग लामो छलफल गरे । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न देउवा आउने सूचना दिएका थिए ।
एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुलाई ‘तपाई कहाँ जाने तय गर्नुस्’ भन्ने गरेका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा भने पाँचदलीय गठबन्धन तोड्ने निर्णयमा पुगिसकेका छैनन् ।
उनलाई एमसीसी अनुमोदन नगरी पनि भएको छैन । बालकोट जानुअघि बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकमा पनि प्रधानमन्त्री देउवाले भोलि शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्न सहमति मागेका थिए ।
बैठकको सुरुमै उनले आफ्नो लामो कुरा नभएको भन्दै भने, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’ कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी अनुमोदनका लागि प्रस्तुत हुँदा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको बताएका थिए ।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसी टेबल भए विपक्षमा मत हाल्ने र सरकार छाड्ने पार्टीको निर्णय मात्र सुनाएनन्, संसद अवरोध कायमै रहेकाले एमसीसी टेबल नमिल्ने बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टेबल गर्न दिने सहमति भएको स्वीकार गरे । तर एमालेले संसद अवरोध कायमै राखेका बेलामा छलफल गर्ने वातावरण नबन्ने र पार्टीको बैठक ७ गते रहेको पनि बताए ।