एक दिनका लागि देउवाले पुरा गरिदिए माधव नेपालको माग
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको माग पुरा गरिदिएका छन् ।
शीर्ष नेताको छलफलमा नेता नेपालले एमसीसी टुबल गर्नका लागि १ दिनको समय दिएका थिए ।
नेपालले फागुन ७ गते आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने भएकाले १ दिनका लागि समय दिन देउवासँग माग गरेका थिए ।
नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएर उनको माग पुरा गरिदिएका हुन् । गठबन्धनको अर्को बैठक फागुन ८ बस्दैछ ।
‘माधव नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ । त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो’, वालुवाटार स्रोतले भन्यो, ‘एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ ।’
सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका थिए ।
त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् ।
देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।