बाबुराम भट्टराईले गरे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता, यस्तो छ नाम

शनिबार, ७ फाल्गुन २०७८

काठमाडौं – जनता समाजवादी पार्टीमा कार्यकारी अधिकार बाँडफाँडको विषयलाई लिएर विवाद चर्किएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच अधिकारको विषयलाई लिएर विवाद चुलिएको हो ।

यही विवाद चुलिएका बेला निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ । कुनै बेला डा. भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको हो ।

‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।

दुई अध्यक्षबीच विवाद चुलिएको बेला नयाँ पार्टी दर्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । धेरैले बाबुराम भट्टराईले नै दल दर्ता गर्न लगाएको आरोप लगाएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी विवाद चुलिएको बेला प्रमुख पार्टीहरूले बैठक बोलाएर यसबारे पार्टीको धारणा तय गरिरहेका छन् ।

जसपामा भने अध्यक्ष यादवले बैठक बोलाएका छैनन् ।

पार्टीमा डा भट्टराई पक्षधर नेताहरू एमसीसीको पक्षमा खुलेका छन् भने अध्यक्ष यादव पक्षीय नेताहरू मौन बसेका छन् ।

जसपामा कार्यकारी अधिकार बाँडफाँटको विषयमा विवाद भइरहेको बेला एमसीसीको मुद्दाले विवाद थप चुलिने देखिएको छ ।

यही विवादको पृष्ठभूमिमा डा. भट्टराई पक्षले पार्टी विभाजन गर्नुपर्ने अवस्थामा यसअघि नयाँ शक्ति पार्टीले लिएको चुनाव चिह्न सुरक्षित गर्न नयाँ पार्टी दर्ता गरेको हुन सक्ने आकलन छ ।