नेकपा स्थायी समिति बैठक सकियो, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

शुक्रबार, १३ पौस २०७५

पौष १३, काठमाडौं – अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बिहान सकिएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको परिमार्जित प्रतिवेदनलाई अन्तिम रुप दिन अब सचिवालयमा पेस हुनेछ। स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावलाई समेटेर परिमार्जनसहित अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंसिर २९ देखि जारी बैठकमा बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा तीव्र आलोचना भएको थियो।

यस्तै, बैठकले पार्टी संगठनहरुको एकीकरणको काम सक्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। रामबहादुर थापा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकर पोख्रेल, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य रहेको सुझाव कार्यदललाई पुस महिनाभरको कार्यावधि तोकिएको छ।