बालुवाटारले नै बनायो प्रचण्ड विरोधी दस्ता, कसले गर्दैछन् नेतृत्व ?

बिहिबार, ३ चैत्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)ले बार्गेनिङ गर्न लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड विरोधी दस्ता तयार पारेका छन् । प्रचण्डले विभिन्न राजनीतिक नियुक्तीमा अस्वभाविक भागबण्डा खोजेको, राजदूत नियुक्तीमा पनि दवाव दिएको, स्थानीय निर्वाचनमा पनि धेरै पालिकामा नेतृत्व खोजेको भन्दै देउवाले गगन थापाको नेतृत्वमा प्रचण्ड विरोधी दस्ता बनाएका हुन् ।

यो दस्ताले नेकपा माओवादी र प्रचण्डको अप्रत्यक्ष रुपमा भण्डाफोर गर्ने म्याण्डेट पाएको छ । प्रचण्डलाई अहिलेभन्दा केही कमजोर बनाउन सके देश कांग्रेसमय बन्ने निचोडका साथ देउवाले यो संयन्त्र बनाएको श्रोतको दावि छ । यो संयन्त्रलाई गोप्य राखिएको छ । अमेरिकाको ग्राण्ड डिजाइनमा सदस्यहरुको नाम गोप्य राख्दै गगन थापालाई संयोजक तोकिएको बालुवाटार श्रोतको भनाई छ ।

यसको सुरुवात प्रचण्डले एमसीसीमा गरेको बार्गेनिङबारे एउटा पुस्तकनै प्रकाशन गरेर भएको छ । उक्त पुस्तकमार्फत अमेरिकी सहयोग परियोजनाबारे प्रचण्डले लुकाएका कुराहरु तथ्यगत रुपमा सार्वजनिक गरिएको छ । यो पुस्तकले नजिकिदै गरेका चुनावलाई प्रभावित पार्न सकिने कांग्रेसको विश्लेषण छ ।

प्रचण्डले स्थानीय तहको निर्वाचनका लागि एक महानगरपालिका, पाँच उपमहानगरपालिका, दुई सय ५० नगरपालिका/गाउँपालिकाको मेयर/अध्यक्ष र त्यही संख्यामा उपमेयर/उपाध्यक्ष माग गरेका छन् । देउवाले यसमा केही पनि जवाफ दिएका छैनन् । बरु गगन थापामार्फत बार्गेनिङ गर्न गठबन्धन गर्न नसकिने बकाइरहेका छन् ।

‘प्रचण्डलाई विच्कायो भने पनि एमालेसँग गठबन्धन गर्ने खतरा छ । नविच्काइकन उनलाई साइजमा ल्याउने सभापतिको रणनीति छ ।’ नेपाली कांग्रेसका एक नेताले भने, ‘जसरी पनि प्रचण्डलाई साथमै लिएर डाउन पार्न सकिन्छकी भनेर केही काम भइरहेका छन् । तपाईँ देखिरहनुभएको छ, अहिले पनि देश प्रचण्डकै वरिपरी घुमिरहेको छ । फेरी पनि त्यो खतराबाट मुक्त हुन सभापति सचेत हुनुहुन्छ ।’

आफू विराधी दस्ता तयार भएको सूचना पाएका प्रचण्डले पनि चुनाव एक्लै लड्न पर्ने परिस्थिति आउन सक्ने बताउन थालेका छन् । उनले पार्टीको उपस्थिति राम्रो भएकोले तालमेल हुनैपर्छ भन्नेमा आफू नरहेको समेत बताएका छन् ।

‘कतिपय ठाउँमा अन्तिम अवस्थामा तालमेल हुनसक्छ। तर हामी आफैं बलिया छौं भने किन डराउनू,’ प्रचण्डले काठमाडौँमा भएको प्रशिक्षण कार्यक्रममा भने, ‘गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू ।’

प्रचण्डले भने, ‘हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ। हामीले सबैले यो लडाइँ जित्न सबै तागत लगाउनुपर्छ भन्ने अर्थमा बुझ्न जरूरी छ। दुइटा बुर्जुवा पार्टी (एमाले–कांग्रेस) पालैपालो शासन गर्ने र अरूलाई सिध्याउने षडयन्त्र भएको छ ।’