आज पनि संयोगले बचे माधव नेपाल !

आइतबार, २० चैत्र २०७८

काठमाडौं – नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी पार्टी) दर्ता गरेका माधवकुमार नेपाल आज पनि संयोगले बचेका छन् । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथि संयोगले निर्णय रोकिएपछि उनी बचेका हुन् ।

अब उनी विरुद्धको फैसला आगामी चैत्र २७ गते हुने भएको छ । नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्षको तर्फबाट रिट दायर भएको थियो ।

रिटको निर्णय आज सुनाउने गरी पेशी तोकिए पनि संयुक्त इजलासमा नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाई रोकिएको हो । आइतबार उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो ।

“यसमा, म सहितको इजलासले निवेदक सोमप्रसाद पाण्डेसमेत बिरुद्ध निर्वाचन आयोगसमेत भएको उत्प्रेषण मुद्दामा प्रस्तुत निवेदनमा बदरका लागि माग गरिएको प्रत्यर्थी निर्वाचन आयोगले गरेको दल दर्ता सम्बन्धी निर्णय प्रकृयासँग सम्बन्धित तथ्यमा प्रवेश गरी अन्तरिम आदेश जारी गरेको मिसिल संलग्न आदेशको प्रतिलिपिबाट खुल्न आएकोले यो मुद्दा मैले हेर्न मिलेन,” संयुक्त इजलासमा रहेका न्यायाधीश नहकुल सुवेदीको रायमा भनिएको छ, “प्रस्तुत मुद्दा इजलासबाट सुनुवाईको मिति तोकी आज पेश हुन आएको देखिंदा अर्को सुनुवाईको लागि मिति २०७८÷१२÷२७ को पेशी तोकिएको छ ।”