फेरी सर्ने भयो एमाले पार्टी कार्यालय

सोमबार, २१ चैत्र २०७८

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालय फेरी सर्ने भएको छ । थापाथलीमा रहेको कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।

ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको नेकपा एमालेले जनाएको छ । कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते सर्ने बताए ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ ।

अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए।