लमजुङको बेंसीसहर नगरपालिकामा एमालेका अर्याल विजयी

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौँ –  लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि ५ बर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका गुमानसिंह अर्याल पुनः ५ बर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका छन् । शिक्षक पेशा त्योगेर उम्मेदवारी दिएकी पद्मा गुरुङ उपप्रमुखमा निर्वाचित भएकी छन् । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २ सय ९७ मतले हराएका गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका छन् ।

त्यो वर्ष एमाले–माओवादी केन्द्र चुनावी तालमेल थियो ।

यसपटक एक्लै जितेका अर्यालले ९ हजार ४ सय ७९मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएका पदमाले ८ हजार ७ सय १४ मत पाएका छन् । श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाएका छन् । हरिजंगले ४ हजार ६ सय ९९ मत पाएका छन् ।

गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाएका छन् । प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत पाएकी छन् । जसपाका बलबहादुर रानाले ४३ मत पाएका छन् ।

उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मंगोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत पाएका छन् ।

बेंसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं। १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं। ७ मा ऋषि बस्नेत, वडा नं। ८ मा पवित्रा थापा राना, वडा नं। १० मा गंगाबहादुर थापा र वडा नं। ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं। ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापाले वडाध्यक्षमा जितेका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं। ९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं। ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।