चितवनमा दुबैको मत बराबर, गोलाप्रथाबाट नेतृत्व चयन हुने
चितवन – चितवन जिल्लाको जिल्ला समन्वय समिति (जिसस)मा प्रमुख र उपप्रमुखको मत बराबर हुने भएको छ । दुईटै गठबन्धन (कांग्रेस–माओवादी र एमाले–राप्रपा)को मत बराबर भएको छ ।
दुई गठबन्धनको मत पराबर भएपछि गोलाप्रथामार्फत नेतृत्व चयन हुने भएको छ । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा सात पालिकाका १४ जना मतदाता छन् । त्यस हिसाबले जिसस जित्न कम्तिमा आठ मत ल्याउनु पर्ने हुन्छ ।
पाँचदलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीन वटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।
यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुनेछ । एमाले–राप्रपाको पनि सात भोट छ । यो गठबन्धनमा तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ । जिसस जित्न गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एक भोट आफूतिर तान्नुपर्ने अवस्था छ । यदि त्यसो नभए गोला टिपाएर छिनोफानो गर्नुपर्ने हुन्छ ।
पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।