विष्णु पौडेलले सरी भनेपछि प्रेम आलेको मन पग्लियो !

बुधबार, २५ जेष्ठ २०७९

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माफी माग्ने संकेत गरेपछि संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको मन पग्लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पौडेलले मौका चौका हान्दै आलेलाई आइतबार राति फोन गरेर पुरानो अतितलाई सम्झिदै माफि मागेको श्रोतको दावि छ ।

मन्त्री आलेप्रति सद्भावपूर्ण धारणा राख्दै पौडेलले भनेका थिए, ‘देश विदेशमा समेत चर्चा हुने गरी मुलुकको हित चिताएर राम्रा काम गर्नुभएका तपाईंजस्ता मन्त्रीलाई पनि फिर्ता बोलाए है ?’ तर मन्त्री आलेले पौडेललाई पनि पार्टी निर्णयप्रति आफू खुशी रहेको जानकारी गराएपछि विष्णु फोनमै केही हच्किएको आले निकटस्थहरु बताउँछन् ।

आलेले आफूले ब्रम्हले देखेको काम गर्दा प्रधानमन्त्री देउवाबाट पनि कुनै हस्तक्षेप नभएको जवाफ दिएका थिए । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि कुनै हस्तक्षेप नगर्नुभएकाले प्रधानमन्त्री र अध्यक्ष दुबैलाई आफूले धन्यवाद दिएको जानकारीसमेत आलेले गराएको श्रोतको दावि छ ।

पद गुमेको मौकामा सहानुभूूति व्यक्त गर्दै उनले एमालेमै फर्किएर राजनीति गर्न घुमाउरो प्रस्ताव गरेका थिए । उक्त कुराले अहिले बजारमा चर्चा पाएको छ । आले यसअघि वनमन्त्री हुँदा अर्थमन्त्री रहेका पौडेलले राजधानी उपत्यकाका जनतामध्ये गरिव र विपन्न परिवारलाई पशुपतिमा शवदाह गर्न निःशुल्क दाउरा उपलब्ध गराउने प्रस्ताव तुहाएका थिए । त्यही कारण पनि मन्त्री आले पौडेलप्रति अहिलेसम्म सकारात्मक नदेखिएका हुन् ।

तत्कालीन अर्थमन्त्रीले बजेटमार्फत जंगल मास्ने, ढुंगा, गिट्टी र बालुवा भारत निर्यात गर्ने कार्यक्रम ल्याएको प्रसंगले त्यतिबेला बजार तताएको थियो । मन्त्री आलेले त्यसको विरोधमा बिज्ञप्ती नै निकाल्नु परेको थियो ।

तत्कालिन अवस्थामा त्यसको खण्डन गर्न पौडेलले दबाब दिएका थिए । तर वनमन्त्री आले टसको मस भएनन् । उनले त्यतिबेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री र अर्थमन्त्री तथा महासचिव विष्णु पौडेललाई ‘नचाहिँदो अरुले गर्ने, खण्डन मैले गर्नुपर्ने ?’ भनेर उत्तर फर्काएका थिए ।

बरु उनले उल्टै सरकारका जिम्मेवार मन्त्रीहरु विभिन्न धन्दामा संलग्न भएकाले ढुंगा, गिटी, बालुवा र माटो निर्यातको बजेट कार्यक्रम फिर्ता गर्नुपर्ने अडान लिँदै वक्तव्य जारी गरेका थिए । बजेट नम्बर २६३ मा रहेको उक्त व्यवस्था फिर्ता लिन मन्त्री आलेले वक्तव्य जारी गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टै आलेलाई वनमन्त्रीबाट फिर्ता बोलाएका थिए ।

त्यतिबेला चिसिएको सम्बन्ध सर्वोच्च अदालतले परमादेश मार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि छरपस्ट भएको थियो । संसदमा देउवाले विश्वासको मत लिंदा आले एकाएक पक्षमा उभिएर सबैलाई सरप्राइज दिएका थिए । पौडेलले त्यसबेलाका कुराहरुलाई विर्सिर फेरी सहकार्यको प्रस्ताव गरेको श्रोतको दावि छ ।