प्रधानमन्त्री कुन अस्पतालमा भर्ना हुनुभएको छ : भीम रावल
काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीमबहादुर रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएको भन्दै गम्भीर आपती जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रावलले संसदमा उठेका प्रश्नहरुको. जवाफ दिनबाट भागेर प्रधानमन्त्रीले संसदको अपमान गरेको बताए ।
‘उहाँ विरामी भएको कुरा आयो । कुन अस्पतालमा भर्ना हुनुभएको छ । यो संसदले जवाफ जाहन्छ ।’ रावलले भने, ‘उहाँ कुन देशको राजदूतसँग हुनुहुन्छ । कुन देशको भ्रमणका लागि सेटिङ मिलाउँदै हुनुहुन्छ ? त्यसको पनि जवाफ चाहिन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक बर्ष २०७८÷७९ को बजेटमा समावेश भएका प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयका कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम थियो । उक्त जवाफ दिनबाट पन्छिएर देउवा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्न उपस्थित भएका थिए ।
साथै देउवा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा समेत सहभागी भएका छन् । देउवाको तर्फबाट रक्षा मन्त्रालयको जवाफ गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जवाफ संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् ।