अरु चारजना मन्त्री पनि फिर्ता हुदै
काठमाडौं – सत्तारुढ जनता समाजवादीका चारजना मन्त्री सरकारबाट फिता हुने भएका छन् । जसपाको सोमबार राति बसेको बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको निर्णय गरेको हो । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
उनका अनुसार त्यो भेलामा संयोजक बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको थिएन । एक नेताले दिएको जानकारीअनुसार करिब २० जना कार्यकारिणी सदस्यको उपस्थिति थियो ।
सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने अधिकार पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।
जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यावद र कृषि मन्त्री महिन्द्र राय यादव रहेका छन् ।
सो भेलाले पार्टीको गतिविधि गर्ने सबैलाई कारवाही गर्ने निर्णय गरेको छ । त्यसैगरी असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि भएको ती नेताले जानकारी दिए ।